जनताको सुरक्षामा जवाफदेही बन्न गृहमन्त्रीको निर्देशन

15
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२-

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरक्षा चुनौति सामना गर्न समयसापेक्ष नीति र योजना बनाउनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन गृहप्रशासनको जवाफदेहिता आवश्यक रहेको भन्दै उनले  संघीयतामा सुरक्षा चुनौति सामना गर्न सक्षम रहेको बताए । गृह मन्त्रालयले संघीयतामा सुरक्षा चुनौति सामना गर्न अपनाउने रणनीतिबारे विज्ञहरुसँग गरेको छलफल कार्यक्रमलाई बिहीबार काभ्रेको धुलिखेलमा उदघाटन गर्दै मन्त्री शर्माले राज्यले सुरक्षा सम्बन्धमा अनभिज्ञता प्रकट गर्न नपाउने र अनभिज्ञता प्रकट गरे क्षम्य नहुने बताए । जनताको सुरक्षामा जवाफदेही बन्न गृह प्रशासनलाई निर्देशन समेत दिँदै मन्त्री शर्माले भने, ‘राज्य जवाफदेही हुनुपर्छ । हामी कसरी जवाफदेही बन्ने भन्ने प्रश्न यहाँनेर छ ।’

मान्छे, प्रविधि र संगठनको उचित समन्वय भएन भने सुरक्षा मजबुत हुँदैन भन्दै उनले जनताको माग र आवश्यकता सम्बोधन गर्ने नीति बनाएर लागू गर्न आफूले चाहेको बताए । ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रमा पनि आन्तरिक सुरक्षालाई प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले भने, ‘हाम्रो समाज कस्तो छ भन्ने कुरा जनताको सुरक्षा अनुभूतिमा हेर्नुपर्छ ।’ राज्यले आफ्नो दायीत्व पूरा गरे पनि समाजमा स्थिति चिन्ताजनक रहेको उनले बताए । ‘युवाहरु ठगिने, महिलाहरु बिभिन्न प्रकारका उत्पीडनमा पर्ने गरेका छन् । चोरी तस्करी, गुण्डागर्दी, कालोबजारी सबै हेर्दा राज्यको पहलको बीच चिन्ताजनक अवस्था छ,’ मन्त्री शर्माले भने ।

समाज र अनिगिन्ती आकांक्षाको व्यवस्थापन गर्नु नै राज्यको दायीत्व हो भन्दै उनले सुरक्षाको मूल आधार जनतालाई बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘जबसम्म जनता आधार बन्दैनन् तबसम्म सुरक्षित समाज निर्माण गर्न सकिँदैन ।’ नयाँ संविधानको स्पीरिटअनुसार नयाँ सुरक्षा रणनीति बनाउने मन्त्री शर्माको भनाइ छ । सम्पन्नता र विपन्नतामा बाँच्ने सबैलाई सुरक्षा चाहिएको भन्दै उनले त्यसको व्यवस्था राज्यले गर्न सक्नुपर्नेमा जोड दिए । ‘पुरातन समाजमा किल्ला र कोत बनाउनमै सुरक्षा सीमित हुन्थ्यो अरु कुरा प्राथमिकतामा परेका थिएनन्,’ मन्त्री शर्माले भने, ‘अहिले स्वतन्त्रता, प्रतिस्पर्धा र एकताको आधारमा आन्तरिक सुरक्षा रणनीति आवश्यक छ ।’ बिहीबारबाट धुलिखेलस्थित एक रिसोर्टमा सुरु भएको छलफल शुक्रबार सकिने छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here