देउवा, पौडेल र सिटौला : कसले मार्ला बाजी ?

40
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २३ – कोइराला परिवारको साथ पाएका रामचन्द्र पौडेल, संस्थापन समूहभित्रकै गुटबन्दीको फाइदा लिएर दलबलसहित मैदानमा उत्रिएका शेरबहादुर देउवा, अनि गिरिजाप्रसाद र सुशीलको उत्तराधिकारी भन्दै युवालाई अघि सारेका कृष्णप्रसाद सिटौला ।

१३ औँ महाधिवेशनबाट जसरी पनि आफू नेतृत्वमा पुग्ने योजनामा रहेका पौडेल, देउवा र सिटौलामध्ये बाजी चाहिँ कसले मार्ला त ? कांग्रेस नेता कार्यकर्तालाई मात्र होइन, अरुलाई पनि निकै खसखस लागेको छ ।

आइतबार हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न तीनैजना नेता हरसंभव प्रयास गरिरहेका छन् । उनीहरु आफू र आफू निकटका नेतामार्फत महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्न सक्रिय छन् । ३ हजार १ सय ६१ महाधिवेशन प्रतिनिधि अर्थात मतदातामध्ये सबै गुटबन्दीमा लागेका छैनन् । केही मतदाता खुलेरै आआफ्नो समूहका नेतालाई जिताउन लागेपनि अरु भने पर्ख र हेरको अवस्थामा छन् ।

कसैको समूहका नखुलेका मतदाता गुटबन्दी र भड्किलो प्रचारको बिरोधमा छन् । पार्टीभित्र विकृति बढेको भन्दै उनीहरु चिन्तित छन् । यसरी कुनै पनि समूहमा नखुलेका मतदातालाई आफूतिर तान्न तीनैजना नेता लागिपरेका छन् । तर नखुलेका मतदाताले अन्तिम अवस्थामा कसलाई भोट दिन्छन् भन्ने यकिन भैसकेको छैन । त्यसमाथि यसपटक आधाभन्दा बढी मतदाता नयाँ भएकाले कसको मत कता जान्छ भन्नेमा उम्मेदवार नै अलमलमा छन् ।
सबैका आआफ्नै रणनीति

सभापतिमा विजयी हुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर तीनजनाको मत बाँडिने भएकाले देउवा, पौडेल र सिटौला कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत नल्याउने कांग्रेस कार्यकर्ताको विश्लेषण छ । त्यसो हुँदा पहिलो चरणमा धेरै मत ल्याउने दुईजनाबिच दोस्रो चरणमा चुनाव हुन्छ ।

तीनैजना उम्मेदवारले पहिलो चरणमै आफूले ५१ प्रतिशत मत ल्याउने दाबी गरेपनि अवस्था त्यस्तो देखिँदैन । पौडेललाई सिटौलाले भोट काट्ने चिन्ता छ । तैपनि उहाँ संस्थापन पक्षका सबैलाई आफ्नो पक्षमा समेटेर बहुमत ल्याउने रणनीतिमा हुनुहुन्छ । चुनाव दोस्रो चरणमा गएपनि आफूलाई झनै सहज हुने उहाँको बुझाई छ । पहिलो चरणबाट सिटौला बाहिरिने भएकाले दोस्रो चरणमा संस्थापन पक्षको सबै भोट आफूलाई आउनेमा उहाँ ढुक्क हुनुहुन्छ । सिटौलालाई संसदीय दलको नेता बनाउने आश्वासन दिएर सहमतिमा ल्याउने पौडेलको रणनीति छ ।

देउवा पक्ष पहिलो चरणबाटै आफ्नो जित हुनेमा विश्वस्त छ । संस्थापन पक्षको मत पौडेल र सिटौलामा बाँडिने भएकाले आफ्नो बहुमत आउनेमा देउवा ढुक्क हुनुहुन्छ । संस्थापन पक्षका असन्तुष्ट र कतै नखुलेका मतदातालाई आफ्नो पक्षमा पार्न देउवा पक्ष लागिपरेको छ ।

चुनाव दोस्रो चरणमा जाँदा संस्थापन पक्षको मत एकत्रित हुने भएकाले जुनसुकै हालतमा पहिलो चरणबाटै बहुमत ल्याउनुपर्ने देउवाको योजना छ । चुनाव दोस्रो चरणमा गएमा पनि सिटौलालाई फकाएर आफूतिर तान्ने उहाँको रणनीति छ । पौडेलले जस्तै उहाँले पनि सिटौलालाई संसदीय दलको नेताको आश्वासन दिने तयारी गर्नुभएको छ ।

त्यसो त अरुले तुलनात्मक रुपमा कमजोर देखेपनि सिटौलालाई त्यस्तो लाग्दैन । युवाले जित्नुपर्ने मतदाताको भावना रहेको र त्यसै अनुसार आफूले युवा अघि सारेकाले नतिजा आफूतिर आउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

पहिलो चरणमा नतिजा नआउने भएकाले दोस्रो चरणबाटै आफूले जित्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । गिरिजाप्रसाद र सुशीलको उत्तराधिकारी आफू हो भनेर सन्देश दिने प्रयासमा लागेका सिटौला संस्थापन पक्षबाट पौडेलको भन्दा बढी मत आउनेमा ढुक्क हुनुहुन्छ ।

पहिलो चरणमा आफू दोस्रो हुने र संस्थापनका सबैलाई समेटेर दोस्रो चरणको मतदानबाट आफू सभापति बन्ने उहाँको योजना छ । त्यसो त देउवा र पौडेल कसलाई जिताउने भन्ने निर्णायक आफू भएको हुनाले पराजित भएमा पनि ‘बार्गेनिङ’ गरेर पार्टीभित्र बलियो स्थितिमा बस्ने रणनीति उहाँको रहेको कांग्रेस नेताहरु बताउँछन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here