नारायणगढ–मुग्लिन सडक आयोजना निमार्णको काम सुस्त, फेरि समय थप्ने तयारी

27
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७–

निर्धारित समयभन्दा सुस्त गतिमा काम भइरहेको नारायणगढ मुग्लिन सडकखण्ड निर्माणको लागि फेरि समयावधि थप्ने तयारी भएको छ । ७४ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनामा यसअघि नै तीन पटक समय थप गरिसकिएको छ । तोकिएको समयभन्दा १० महिना समय थप गरिसकिएको आयोजनामा फागुनको पहिलो साता थपिएको समयावधि सकिन नलाग्दै फेरि नयाँ समयावधि थपिने तयारी भैरहेको हो । तोकिएको समयमा काम नसकिएकाले समय थप गर्नुपर्ने माग आएको बताउदै नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले काम रोकिएको दिनको आधारमा केही समय थप हुन सक्ने बताउनुभयो । भूकम्पपछि सरकारले आयोजनालाई एक वर्ष समय अवधि थप्न सकिने बताएको विषयलाई आधार मानेर अहिले ठेक्दारले १ हजार ४ चार सय दिन समय थपको माग गरेका छन् । तर, आयोजनाले त्यत्रो लामो समय थप हुन नसक्ने बताउँदै आएको छ ।

आयोजनाको सुरुमा नारायणगढ–मुग्लिन सडकखण्ड सन् २०१५ को अप्रिल २४ मा सक्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । आयोजना सुरु भएपछि आएको भूकम्प, नाकाबन्दी र वर्षात् तथा बाढीका कारण मिति थप गरिएको बताउँदै खनालले दुई पटकको चुनाव, वर्षातको समय, चाडपर्वको समयमा सडकमा काम रोकिएको समय अवधिलाई हेरेर मिति थप्न सकिने बताउनुभएको हो । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई कामको विवरणका आधारमा पनि केही दिनको समय थप्न सकिने उहाँले बताउनुभयो । रातको समयमा सडक खण्डमा सवारी रोकेर काम गरिँदा प्रभावकारी नभएको भन्दै पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर सडकखण्डको काम गरिँदै आएको छ । रातिभन्दा दिउँसोको समयमा काम प्रभावकारी भएको जानकारी दिँदै इञ्जिनियर खनालले दिउँसोमा भित्तो काट्ने र कालोपत्रे गर्ने कार्य सँगसँगै भएकाले कामको प्रगति बढेको बताउनुभयो ।

१७ किलोमिटर कालोपत्रे

नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्डलाई तीन भागमा विभाजन गरी तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । अहिलेसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको इञ्जिनियर खनालले जानकारी दिनुभएको छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी पूरा भएको खनालले बताउनु भएको छ । त्यस सडकखण्डमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको पहिला ेखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्लिनतर्फ ६ किलोमिटर सडक कालोपत्र भएको छ ।

उड हिल तथा लामा निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको दोस्रो खण्ड १० दशमलब ७ किलोमिटरमध्ये अहिलेसम्म ७ दशमलब ७ किलोमिटर सडक कालोपत्र भएको छ । सुप्रिम तथा रौताहा निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र भएकोे छ । ३३ दशमलब २ किलोमिटर रहेको त्यस सडकखण्डमा ५५ प्रतिशत भाग कालोपत्र गरिएको  इञ्जिनियर खनालले बताउनुभयो । उहाँका अनुसार सडकको तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ ।

पहाड काट्नै बाँकी

नारायणगढ–मुग्लिन सडकखण्डमा अझै केही पहाड काट्न बाँकी नै रहेको छ । सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नुपर्ने थियो । अहिलेसम्म सडकखण्डको १ सय २० मिटर पहाड काटिसकिएको र १ सय ८० मिटर पहाड काट्न बाँकी रहेको खनालले बताउनुभयो । ४४ मिटर अग्लो पहाड रहेको घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा अब १०० मिटर मात्रै भित्तो काट्न बाँकी रहेको छ । त्यस ठाउँको माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । तेस्रो सडकखण्ड अन्तर्गत चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । चेपाङ डाँडाको पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताउनुभयो । सन् १९८२ मा चीन सरकारको सहयोगमा नारायणगढ र गोरखा जोड्न यो सडक बनेको थियो । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम सुरु गरिएको हो ।

सडक ३ सय ५० मिटर छोटो हुँदै

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भइसक्दा ३ सय ५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काटिँदा सडकको लम्बाइ घट्ने भएको छ । नियमित सवारी आवत–जावत गर्न निर्माण सुरु गर्नुअघि त्यो सडकखण्ड पार गर्न ७० मिनट लाग्ने गरेको थियो । सडक निर्माण सम्पन्न भएपछि ३५ मिनटमा पार गर्न सकिने आयोजनाले बताएको छ । आयोजनाका इञ्जिनियर खनालले सडक पुनः मर्मतकै कारण ५० मिटर छोटो हुने बताउनु भएको छ । सडकखण्डमा बन्ने नयाँ पुलका कारण सडक ३०० मिटर छोटो हुने खनालले बताउनुभयो ।

सडकको दूरी नै छोटो बनाउने आयोजानको लक्ष्य नभएको बताउँदै खनालले सडक पार गर्न लाग्ने समयलाई आधा बनाउने मुख्य उद्देश्य भएकोले ३५ मिनटमा पार गर्न सकिने बताउनुभयो । त्यस सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई ७ देखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो । नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म ७ मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

१८ वटा नयाँ पुल बन्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा १८ वटा नयाँ पुल बन्ने भएको छ । चार वटा ठूला पुलको निर्माण कार्य सुरु भएको नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले जानकारी दिएको छ । सडकखण्डमा अहिले पुल रहेकै स्थानमा आउँदो दुई वर्ष भित्र १८ वटा नयाँ पुल बनाइने भएको हो । त्यस सडकखण्डमा अहिले रहेका पुल साँघुरा र जिर्ण रहेका कारण सबै पुल नयाँ बनाउन लागिएको आयोजनाले बताएको छ । सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई नै पुल निर्माणको जिम्मा दिइएको छ । सडक निर्माणको लागि थपिएको अन्तिमपटकको म्याद सकिन ३ महिना बाँकी रहँदा नै तीनै ठेकदारले सडकखण्डका पुल निर्माणको जिम्मा पाएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ४ वटा पुल निर्माणका लागि दुई वटा कम्पनी ‘लामा कन्स्ट्रक्सन र रौताहा निर्माण’सँग सम्झौता गरी काम अगाडि बढाएको छ । १८ मध्ये  चार वटा पुलको निर्माण प्रकृया सुरु भइरहेको बताउँदै आयोजनाका इञ्जिनियर शिव खनालले सबै पुलका लागि नक्साङ्कनको काम भइरहेको बताउनुभयो  । निर्माण सुरु भएका चारवटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलबिरे रहेका छन् । सडकखण्डमा ६ मिटर मात्र चौडा रहेको पुललाई ११ मिटर चौडाको निर्माण गरिने खनालले बताउनुभयो । २१ महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो ।

राजधानी जोड्ने लाइफलाइन

सन् २०१५ मा गरिएको सर्वेक्षण अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ८ हजार ३ सय १७ सवारी साधन गुड्ने गरेका छन् । कम्तीमा तीन हजार र बढीमा १० हजारसम्म सवारी गुड्ने गरेको तथ्यांक रहेको छ । राजधानीसँग जोड्ने मुख्य यो सडकखण्ड व्यपारीक आवताजावतका हिसाबले पनि मुख्य हो । राजधानीलाई जोड्ने वैकल्पिक सडकमार्ग, सुरुङ्गमार्ग र फाष्ट ट्रयाक बनिनसक्दा यही नारायणगढ मुग्लिन सडकखण्डमै सवारी चाप बढ्ने छ । अहिले आयोजनाले २० वर्षको भार क्षमतालाई आंकलन गरेर काम गरेको छ ।

सन् २०१७ मा निर्माण सम्पन्न भए सन् २०३७ सम्मको अवस्थालाई आंकलन गरिएको छ । त्यस समयसम्म पनि व्यपारिक मार्गको रुपमा वैकल्पिक तयार नभए यो सडक खण्डले भार क्षमता थेग्न नसक्ने प्राविधिकहरु बताउछन् ।अहिले एसियन नेटवर्कको रुपमा नेपालको चीन सीमाना कोदारीदेखि पाँचखाल काठमाडौं–नौबिसे–मुग्लिन–नारायणगढ–हेटौंडा–वीरगञ्ज हुँदै भारतसम्म पुग्नको लागि यो सडकखण्ड महत्वपूर्ण रहेको छ । पूर्व–पश्चिम राजमार्ग र तराइलार्ई पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौंसम्म जोड्ने काठमाडौं–कलकत्ता व्यापारिक करिडोरको एक महत्वपूर्ण सडकखण्डको रुपमा नारायणगढ मुग्लिन सडक खण्डलाई लिइन्छ । २०३६ सालमा चीन सरकारको सहयोगमा गोर्खा नारायणगढ सडकको एक खण्डको रुपमा यो सडक निर्माण भएको थियो ।

तस्बिर : आयोजना

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here