निजगढका साहित्यकार रमेश रसिक सग गरिएको साहित्यिक भलाकुसारी

203
Want create site? Find Free WordPress Themes and plugins.

प्रश्न -१. तपाईंको ब्यक्तिगत पारिवारिक र बाल्यकालको पृष्ठभुमि बारे हामीलाई बताईदिनुहोस् न? सामान्य कृषि पेशा गरेर जीवन निर्बाह गनु हुने पिता केदारनाथ तिमल्सिना र माता दुर्गा देविको पाचँ सन्तान मध्यको चौथो सन्तानको रुपमा आजभन्दा बाईस बर्ष अगाडि मेरो जन्म भयो। हामी दुई दिदी हरु र तीन दाजुभाइ छौ। त्यसमध्येको म माइलो छोरा हुँ। खेतिपाती नि धेरै नभएको र आम्दानीको स्रोत नि कतै नभएकोले आमा बुबाले ज्याला मजदुरी गरेर भए पनि हामी सबै सन्तानलाई शिक्षा दिनुभयो। मैलें प्रा वि स्तरको शिक्षा जनकल्याण प्रा वि निजगढ-४,बाट लिए त्यसपछि मा वि को लागि श्री सार्वजानीक मा वि र प्रबिणता तह गौरी शंकर उच्च मा बि निजगड हुँदै स्नातक तहको पढाइ गौरी शंकर क्याम्पसबाट सकेर ऐले मास्टर तहको पढाइ हेटौडा क्याम्पस, हेटैडामा अध्ययन गरिरहेको छु। पढ्ने बेलामा आर्थिक अबस्ता उति बलियो नभएता पनि मेरो शिक्षा राम्रो भएकोले मैले प्राय छात्रवृत्ति मै अध्ययन गरि आजसम्मको अध्ययन पार गरेको छु।
प्रश्न-२.हिजोआज के मा ब्यस्त हुनुहुन्छ ?
सदाको झै १०-४ को अफिस बाकिँ समय परिवार, साथीभाइ र रहेको समय अध्यन र लेखाईमा नै समय खर्चिरहेको छु।

प्रश्न -३.तपाईंले साहित्यको पाटोलाई अँगाल्दै आउनु भएको कति समय भयो ?
साहित्यलाई माया गर्न लागेको त मैले १० कक्षा पढ्दा देखिनै हो। तर केही मनका भावनालाई कोर्न थालेको चाहिँ लगभग एक-दुई बर्ष भयो।

प्रश्न – ४. साहित्य सिर्जनामा प्रवेश गर्नको निम्ति तपाईं लाई कसरी मिल्यो त ? कुनै पुस्तक हरु छन कि कोहि साहित्यकार हरुको सिर्जना हरु बाट या पारिवारिक हैसला मिल्यो ?
साहित्य क्षेत्रमा अगाडि बढ्नको निमित्त प्रेरणा रेडियो र पत्र पत्रीका नै पहिलो हुन्। अनि मेरी मामुको ठूलो योगदान छ।

प्रश्न – ५. तपाईंको परिवार मा साहित्यको पाटोलाई कसैले अँगाल्नु भएको छ कि छैन?
मेरो परिवारमा कसैले लेख्नु हुन्न तर मलाई साथ र
सरसल्लाह सदैब दिइ रहनुहुन्छ। मेरो मामुको प्रेरणाले आजसम्म यहाँ आइपुगेको हुँ हेर्दै जाँउ यो प्रेरणाले मलाई कहाँसम्म पुर्याउदो रहेछ।

प्रश्न-६. तपाईंले लेखन कार्य नेपाली साहित्यको कुन विधा बाट सुरुवात गर्नु भयो र आजसम्म कुन-कुन विधामा कलम चलाई सक्नुभयो?
विशेषगरी मैले गजल बिधाबाट नेपाली साहित्यमा कलम चलाउन थालेको हुँ र आज पनि गजल मै अलिक बढी रमाउछु। गजलको अलवा म मुक्तक,हाइकु,र केही गितहरु पनि लेख्ने गर्छु।

प्रश्न-७. सामाजिक संजाल तिर तपाईंका छन्दिय गजल हरु पनि हामीले पढेका छौ, यो छन्दिय गजल लेख्न स्वतन्त्र गजल भन्दा कत्तिको जटिल छ?
गजल बिधा आफैमा एक गहन र जटिल बिधा हो मेरो बिचारमा।यस्मा पनि छन्द र बहरमा मात्रा र ह्रस्व दिर्घको केही नियम बुझेर लेख्नु पर्दा गाह्रै हुन्छ। तर जति नशा लाग्दै गयो उति मजा र आनन्द आउँछ लेख्नमा। स्वनन्त्रमा नि माजा हुन्छ गजल तर लयात्मक हुनुपर्छ भन्ने मेरो मान्यता छ।

प्रश्न-८. कक्षा १० देखी हाल मास्टर लेबल सम्म आईपुग्दा कतिको संख्यामा गजल कोर्नु भयो र ति गजल हरु लाई संग्रह बनाएर पाठकको हातमा पुर्याउनु भैसक्यो कि?
मैले गजल नै नेख्न लागेको चाही जम्मा जम्मी एक बर्ष भयो होला।त्यो भन्दा अगाडिको अवधीमा अध्यन गर्थे तर लेख्ने लत बसिसकेको थिएन।यो एक वर्षको बिचमा लगभग १०० को हाराहारिमा गजल लेखेको छु।अनि ऐले सम्म मैले कुनै संग्रह निकालेको छैन । म नेपाली साहित्यमा भर्खर बामे सर्दै गरेको बालक हुँ यस कारण संग्रह निकाल्ने आधारहरु पूरा हुनै बाँकी छन जस्तो आफ्नै मनले भनिरहन्छ।

प्रश्न- ९.आजको समयमा नेपाली साहित्यको विशेषत गजल विधामा कलम चलाउन चाहाना राख्ने नव सर्जक हरु लाई के सुझाव दिनुहुन्छ?

पछिल्लो समयमा गजल लेख्न रुचाउने हरुको संख्यामा भेल बाढी नै आएको छ। यो एउटा सकरात्मक पक्ष हो तर यो संगै धेरै चुनौती पनि थपिएको छ। आजभोली संचार माध्यम लगाएत सामाजिक संजालहरुमा निकै बिबादास्पद बनेको बिधा पनि हो गजल। हृदय देखि नै गजल लेख्न इच्छा राखेर आउने नव सर्जक हरुको लागि मेरो सुझाब भन्नू पर्दा पहिलो अध्ययन गर्ने बानी बसाल्नुस्। अग्रज हरुको गजलको भाव र प्रस्तुतिको अबलोकन गर्नुहोस।अनि थोरै लेख्नुहोस तर समय सापेक्ष,भावले भरिएको सहज सरल र लयात्मक लेख्न प्रयास गर्नुहोस्। सिके पछि नआउने भन्ने कुनै कुरा नै हुदैन्। आउनुहोस् संगसंगै यात्रा गरौला भन्न चाहान्छु।

प्रश्न -१०. तपाईंको विचारमा साहित्य लेखन लाई उमेरले कत्तिको फरक पार्छ। एउटा बालक , युवा र बृद्धअवस्था मा प्रवेश गरिसकेको सर्जक हरुको सिर्जना मा व्यक्त भएको भावमा तपाईंले कत्तिको अन्तर पाउनु भएको छ?

अवस्य पनि उमेरले रचनामा फरक पार्छ नै। उमेर संगै कुनै पनि सर्जकको सोच्ने शैली,व्यवहार, सब्दभण्डार , परिबेश , लेख्ने शैली, आदिमा परिपक्कता हुदै जान्छ। भर्खर लेख्न सुरु गरेका सर्जकको भन्दा केही बर्ष लेखनमै बिताउनु भएको सर्जकहरुको सिर्जनामा परिपक्कता र ब्याबहारिकता पाइन्छ। उसो त नव सर्जकमा नि एक किसिमको दम त पाइन्छ तर त्यो दिर्घकालिन नहुन पनि सक्छ।

प्रश्न -११.पछिल्लो समयमा कुनै एक साहित्य क्षेत्रमा आफ्नो स्थान कायम गरिसक्नु भएको साहित्यकार को नाम लिनुपर्दा कस्को लिनुहुन्छ र उहाँको कुन कृति बाट तपाईं उहाँ प्रती आकर्षित हुनुभयो?

विशेष त मलाई प्रेरणा साथ र आशीर्वाद दिनु हुने नवज्योती नेपाली साहित्य समाजको सम्पुर्ण दादा दिज्यु हरुलाई सम्झिन चाहान्छु उसो त अरु पनि टन्न होसिन्छ बहर बाटिका र बहर बहार को सम्पुर्ण टिमले नि मलाई गजल लेखनमा धेरै सहयोग र साथ दिनु भएको छ। म किटान गरेर एक जनाको नाम लिएर आफुलाई लज्जित बनाउदिन। हरेक कोणबाट हरेकको बिचार र सब्दले मलाई प्रेरणा दिइरहेको छ।

प्रश्न-१२ तपाईंले लेख्नुभएको र सर्वाधिक पाठक हरुले मन पराउनु भएको कुनै एउटा गजल हाम्रो माँझमा राख्न सक्नुहुन्छ?

गजल
सधैं जून झर्थ्यो कथनमा कसैको।
थियो प्रेम मेरो जतनमा कसैको।

सुनेको छु राख्छन् नयनभित्र आफ्ना
म देख्थें मलाई नयनमा कसैको।

बनेको छु पागल यहाँ प्रेम गर्दा
कुदें नाम मैलें पवनमा कसैको।

गरी घात पैले मुटु रेट्न सक्ने
छुरा धारिलो थ्यो बचनमा कसैको।

गरे भ्रष्ट तिन्ले यहाँ देश बेची
छ मान्छे नजिकको सदनमा कसैको।

बुझे हुन्छ सबले छ कस्तो रसिक यो?
हुँ मान्छे नबस्ने खटनमा कसैको।

रमेश रसिक |निजगढ

प्रश्न-१३. हाम्रो यस “डायरीका पाना साहित्य यात्रा” प्रती हजुरको कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए दिनुहोस् न तपाईंले दिनुभएको ति सुझावहरु हाम्रो लागी आगामी दिनहरूमा अधिबढ्न प्रेरणा बनोस्।

सर्बप्रथम त मेरा दुई शब्द र भावनाहरु यहाँ राख्ने अबसर दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु। परिवर्तित समय र समाजमा हजुरहरुको जस्तो अनलाइन यात्राले नै समाजमा प्रगती र बिकासको दीप बाल्न सक्छ। लुकेर बसेका र ओझेलमा परेका प्रतिभावान सर्जकरुलाई हामी समक्ष ल्याउने बावाबरण मिलाउने कोसिस गर्नु होला। अनि बेला बेला स्थापित सर्जक र श्रष्टाहरुको बिचार लेख र मन्तब्यलाई पनि सार्वजानिक गर्दै गर्नुस ता कि अरुको लागि मार्गदर्शन र प्रेरणा मिलोस।

प्रश्न-१४. अन्तमा, यहाँले यो रातको समयमा मिठो निद लाई भुलेर पनि हाम्रो अनुरोधलाई स्विकार्दै आफ्नो अमुल्य समय दिनु भयो यसका लागी समग्र “डायरिका पानाहरु साहित्य यात्रा” यहाँ प्रती हार्दिक आभारी छ। यहाको साहित्य यात्राले सफलताको शिखर चुमोस, यहाँको कृती छिट्टै पढ्न पाईयोस शुभकामना ! धन्यवाद

पुन: यहाँ र यहाँको सम्पुर्ण टिमलाई स हृदय धन्यवाद दिन चाहन्छु यो समय स्थान र साथको लागि। हजुररहरुको अन्लाईन यात्राले पनि सफलताको शिखर चुमोस् हरेक साहित्यिक मन भित्र बाँस बस्न सफल रहोस प्रगती र सफलताको लाखौ लाख सुभकामना।

(आवद्ध संघसस्था:नवज्योती नेपाली साहित्य समाज, निजगढ साहित्य प्रतिष्ठान)

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here