पहिरोले बेगखोलाका २७ घर जोखिममा, बेनी-जोमसोम सडक अवरुद्ध

25
Want create site? Find Free WordPress Themes and plugins.

असोज १ – शुक्रबार राति परेको पानीका कारण म्याग्दीको बेगखोला–१ वेग र लिस्ने गाउँमा पहिरो जाँदा २७ घर उच्च जोखिममा परेका छन् । दुवै गाउँको दायाँ र बायाँबाट पहिरो खसेपछि बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । सिङ्गो बस्ती नै धाँजा फाट्दै तल सरेको र गाउँको पुछारबाट पहिरो माथी सरेको बताइएको छ । पहिरोमा परेका बस्तीको अवस्था बुझ्न र उद्धारका लागि प्रहरीसहित रेडक्रसका सहयोगी घटनास्थलतर्फ लागेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमाल, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी र प्रहरीको टोली त्यसतर्फ गएको हो । रेडक्रसमार्फत पीडितका लागि त्रिपाल र कम्बल लिएर आफूहरु गएको पत्रकार महासंघका अध्यक्ष सुरत केसीले बताउनुभयो । शुक्रबार राति बेगखोलामा आएको बाढीले बेनी-जोमसोम जोड्ने सडकको १० मिटर भाग बगाएको छ । बेगखोलामा बनाइएको अस्थायी सडकको झण्डै १० मिटर भाग बाढीले बगाएको म्याग्दी जीप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो । सडक अवरुद्ध भएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणलाई सास्ती भएको छ । बाढीले विद्युतको पोल र तार समेत बगाएको हुँदा उत्तरी म्याग्दीको ८ गाविससहित हिमाली जिल्ला मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवाको आपूर्ति बन्द भएको छ । अवरुद्ध सडक तथा विद्युत सुचारु गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको म्याग्दीका प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

 

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here