फास्ट ट्रयाक नेपालले आफै निर्माण गर्ने रणनीति तथा योजना छिट्टै गर्ने

19
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ६   भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले  हुलाकी राजमार्गको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताउनुभएको छ । उहाँले फास्ट ट्रयाक नेपालले आफै निर्माण गर्ने रणनीति तथा योजना छिट्टै सार्वजनिक गर्नेसमेत बताउनुभएको छ ।  सोमबार रिपोर्टर्स क्लबमा मन्त्री लेखकले तराईमधेसका २० जिल्लामध्ये १५ जिल्लाका उत्तर दक्षिण जोड्ने झण्डै ७ सय १ किलोमिटरको निर्माणको लागि टेण्डर प्रक्रिया सुरु भएकोले अबको दुई तीन महिनाभित्रै दु्रत गतिमा निर्माण कार्य हुने बताउनुभएको हो । ‘तराई मधेसमा विकासको गति अब अघि बढ्छ, सडक सञ्जाल भएमात्रै आर्थिक गतिविधि बढ्छ’ उहाँले भन्नुभयो । हुलाकी राजमार्ग अन्र्तगर्त बन्ने २४ मार्गमध्ये १० वटा मार्ग भारतको अनुदानमा र बाँकी १४ वटा मार्ग नेपालको आन्तरिक स्रोतले नै निर्माण हुने मन्त्री लेखकले जानकारी दिनुभयो । झण्डै १८ अर्ब रुपैयाँको लागतमा बन्ने राजमार्गहरु निर्माणमा भारतले ८ अर्ब रुपैयाँ अनुदान दिने पनि उहाँले बताउनुभयो । मन्त्री लेखकले पूर्व–पश्चिम हुलाकी राजमार्गको पनि डिपीआर अन्तिम चरणमा पुगेको बताउनुभयो । झण्डै १२ सय किलोमिटरको राजमार्गको डिपीआर अन्तिम चरणमा पुगेकोले अब छिट्टै दोस्रो चरणको कार्य पनि सुरु हुने उहाँले बताउनुभयो । मन्त्री लेखकले नेपाल दुई ठूला विशाल छिमेकीहरुका बीचमा भएकोले दुवै देशसँग सडक सञ्जालले जोड्नको लागि पनि सडक सञ्जालको विस्तारमा विशेष ध्यान दिनुपर्ने बताउँदै भन्नुभयो, ‘सडक सञ्जाल र यातायातले उत्तर दक्षिण जोड्न सक्यौ भने नेपाल दुई ठूला देश भारत र चीनको हब बन्छ ।’ त्यस्तै मन्त्री लेखकले काठमाडौं–तराई मधेस फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गर्नुभयो । ‘अब फाष्ट ट्रयाक निर्माणका सम्बन्धमा अब कुनै द्धिविधा छैन, यसबारेमा मैले विशेष निर्णय गरेको छु, अब मन्त्रिपरिषदमा गएको छ’ उहाँले भन्नुभयो । उहाँले अब फाष्ट ट्रयाक नेपाल सरकारले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाँका अनुसार फाष्ट ट्रयाक निर्माणबारे डिपीआर आफै गर्ने वा के कसरी गर्ने भन्नेबारेमा पनि अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । त्यस्तै फास्ट ट्रयाक निर्माणबारे वित्तिय व्यवस्थापनबारे पनि ऋण सहयोग वा अनुदान के गर्ने भन्नेबारेमा पनि अहिले छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । ‘फास्ट ट्याकको ठेक्काको मोडेल कस्तो हुने, यी सबै विषयमा विशेष प्रतिवेदन तयार पार्नको लागि समिति गठन गरिएको छ, समितिले एक महिनाभित्रै रिपोर्ट तयार पार्छ’ उहाँले भन्नुभयो । मन्त्री लेखकले उत्तरी सीमा नाका पनि चाँडो भन्दा चाँडो खोल्नेबारे तयारी भैरहेको जानकारी दिनुभयो । उत्तरी सिमाना जोड्ने सडक सञ्जालको विस्तार कार्यको लागि नेपाली सेनालाई ट्रयाक खोल्ने जिम्मा दिने निर्णय समेत भएको उहाँले बताउनुभयो । गोरखाको लार्केभन्ज्याँग अन्तर्गत चीन जोड्ने नाकाको आफूले स्थलगत निरिक्षण समेत गरिसकेको उल्लेख गर्दै उहाँले यस्ता जटिल ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभयो  । चीनसँग भएको सम्झौता अनुरुप केरुग–काठमाडौं रेलवेको सर्भेको कार्य अघि बढिरहेको समेत उहाँले बताउनुभयो । त्यस्तै उहाँले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जामको समस्या समाधानको लागि पनि आफूले विशेष कार्ययोजना अघि ल्याउन लागेको खुलासा गर्नुभयो । ‘काठमाडौंमा फ्लाई ओभर ब्रिज र मेट्रो रेलको सर्भे कार्य अघि बढाउनुपर्छ, यो अहिले नै सम्पन्न गर्ने कुरा होइन, त्यसैले सम्भव भए यही आर्थिक वर्षको बजेट अनुसार नभए अर्को आर्थिक वर्ष भएपनि सर्भे गर्नुपर्छ ।’ मन्त्री लेखकले बुटवलदेखि कञ्चनपुरको दोधारा चाँदनी रेलवेको लागि डिपीआर कार्य अन्तिम तयारीमा पुगेको समेत स्पष्ट पार्नुभयो । उहाँले सवारी तथा यातायात व्यवस्थापन ऐन संशोधन कार्यपनि आफूले अगाडि बढाएको उल्लेख गर्दै भन्नुभयो, ‘रोड सेफ्टी काउन्सिल बनाउनेसम्मका कुरा संशोधनमा उल्लेख गरिएको छ ।’ त्यस्तै उहाँले नेपाल सरकारकै ५१ प्रतिशत स्वामित्व रहनेगरि ट्रान्सपोर्ट कम्पनी खोल्नेबारेमा पनि आफूले सोचेको बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here