भारतबाट फर्केपछि प्रधानमन्त्रीले भने–भ्रमणले दुई देशबिचको विश्वास बढ्यो

32
Want create site? Find Free WordPress Themes and plugins.

असोज २ –  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले दुई देशकाबिच विश्वासको वातावरण अभिवृद्धि गर्न मद्दत गरेको बताउनुभएको छ । भारतको चारदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल र भारतबिच सदियौँदेखि रहँदै आएको घनिष्ट एवमं बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रमणको प्राथमिकता धेरै विषयको उठानभन्दा पनि असल नियतका साथ दुवै देशबिच विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमति भएका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयनमा केन्द्रित रह्यो ।’प्रधानमन्त्री दाहालले भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरमा भएका उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्ष र विषयमा सौहार्द वातावरणमा गहन र खुला छलफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भारतसँगको सहमतीले चीनसँगको सम्बन्धमा असर नगर्ने पनि बताउनुभयो । भ्रमणले २ देशबिचको सम्बन्ध थप मजबुत बनेको भन्दै संयुक्त रुपमा जारी भएको २५ बुँदे वक्तव्यले चीनसँगको सम्बन्ध नबिग्रने उहाँले स्पष्ट पार्नुभयो ।  भारत र चीनसँगको सम्बन्धको आयाम छुट्टाछुट्टै र पृथक रहेको भन्दै उहाँले छिमेकीसँगको सन्तुलित नीतिमा असर नपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले सबैलाई समेटेर संविधान कार्यान्वयनको दिशामा आफू अघि बढेको भन्दै भारतले त्यसलाई स्वागत गर्नु सकरात्मक रहेको दाबी गर्नुभयो ।‘अहिले चालु रहेका खुला सीमापार र रेल्वे एकीकृत चेकपोष्ट तथा हुलाकी सडकजस्ता महत्वपूर्ण परियोजनाको प्रगतिको  नियमित समीक्षा गरी समयबद्धरुपमा पूरा गर्न ठोस उपाय अपनाउनुका साथै शीघ्र कार्य सम्पन्न गर्न हामी सहमत भयौँ’ उहाँले भन्नुभयो । नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषयको समीक्षा र पुनरावलोकन गर्न आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा निर्णय लिन परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सन् २०१६ मा गर्ने सहमति भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।उहाँले भारत हुलाकी राजमार्गको दोस्रो चरण, बुटवल जोड्ने सीमापार प्रसारण लाइन र हेटौँडा तथा ढल्केवरमा विद्युतीय सवस्टेसनको निर्माण एवं कास्कीमा पोलिटेक्निक निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहुलियतपूर्ण ऋण उपयोगसम्बन्धी सम्झौता, विगतमा घोषित सहुलियत ऋणको संशोधित सम्झौता र भारतको सहयोगमा निर्माण हुने हुलाकी सडकको पहिलो चरण निर्माणका लागि परामर्शदाता नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको थियो । त्यस्तै जलविद्युत क्षेत्रमा लगानी तथा सहयोगको अभिवृद्धिका लागि २०१४ मा सम्पन्न नेपाल–भारत ऊर्जा व्यापार सम्झौता (पिटिए) लाई आवश्यक उपाय अवलम्बन गर्दै कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अध्ययन गरी अन्तिम रुप दिन दुवै पक्षबिच सहमति भएको उहाँले बताउनुभयो । भारतले पुनर्निर्माणमा उदारतापूर्वक गरेको सहयोगलाई प्रभावकारी रुपमा उपयोग गर्ने सहमति भएको छ । दुवै देशको सुरक्षासम्बन्धी समान चासो रहेका सन्दर्भमा दुवै पक्षका सुरक्षा निकायबिच सहयोग तथा समन्वयको विस्तार गरी अवाञ्छित तत्वबाट खुला सिमानाको दुरुपयोग हुन नदिनेबारेमा पनि कुराकानी भएको थियो । व्यापार तथा पारवहन सहज र सुदृढ गर्न थप उपाय अपनाउन दुवै देशबिच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘भारतसँगको नेपालको बढ्दो व्यापार कम गर्न नेपालको निर्यात व्यापारलाई बढाउने उपायका बारेमा पनि छलफल भयो ।’नेपालको औद्योगिकीकरण तथा व्यापार विस्तारमा भारतको सार्वजनिक तथा निजी क्षेत्रकोे सहभागिताका लागि छलफल भएको बताउँदै उहाँले दुवै मुलुकका निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिने सम्बन्धमा पनि छलफल भएको जानकारी गराउनुभयो । सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री दाहालले भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक भएकाले भारतसँगको सम्बन्धले चीनसँग दूरी नबढ्ने स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री दाहालले स्वदेश फर्कनुअघि आइतबार नै भारतको हरिद्वारस्थित पतञ्जली योगपीठको अवलोकनसमेत गर्नुभएको थियो ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गएको भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायतसँग उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here