भारतीय राष्ट्रपतिका लागि सुरक्षा योजना तयार

33
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १३ – भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि हुने नेपाल भ्रमणको लागि सुरक्षा कार्ययोजना तयार पारिएको गृह मन्त्रालयले जनाएको छ । भारतीय राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो । भ्रमणका क्रममा सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । सुरक्षाको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । भ्रमणका बेला राष्ट्रिय अनुसन्धान विभागलाई पनि परिचालन गरिनेछ । केही दिन अघिदेखि नै नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी सुरु गरिएको र काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकामा कडाइ गरिएको पनि प्रवक्ता पन्थीले जानकारी दिनुभयो । भारतीय राष्ट्रपतिका लागि काठमाडौंसहित पोखरा र जनकपुरका लागि एक सय मिटर वरपरको शंकास्पद गतिविधिको जानकारी दिने जामरसहितको सवारी साधनको व्यवस्था गरिएको छ ।

गृहमन्त्रीले लिए सुरक्षा व्यवस्थाबारे जानकारी

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा निकायका प्रमुखसहित जनकपुर तथा पोखरा पुगेर त्यहाँको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जानकी मन्दिरका पूजारीसँग पनि छलफल गर्नुभएको छ । भारतीय राष्ट्रपति मुखर्जी भ्रमणका क्रममा जनकपुर र पोखरा जाने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले विमानस्थलमै गएर स्वागत गर्ने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुहुने भएको छ । शनिबार सार्वजनिक भएको भ्रमण तालिका अनुसार आफ्नो निमन्त्रणमा नेपाल भ्रमणमा आउने भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुहुनेछ। उहाँले भारतीय समकक्षी मुखर्जीसँग शितलनिवासमा शिष्टाचार भेट गर्नुहुनेछ भने उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्नेे परराष्ट्र मन्त्रायले जनाएको छ ।

यस्ता छन् कार्यक्रम

भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १८ गते पशुपतिनाथमा पूजाआजा गर्नुहुने छ भने त्यसैदिन उहाँलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्नेछ । मुखर्जीको सम्मानमा नागरिक अभिनन्दन पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति मुखर्जीसँग विभिन्न दलका नेताहरुले पनि शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले कात्तिक १९ गते जनकपुरमा रहेको जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । त्यसैदिन पोखरा भ्रमण गरी मुखर्जी स्वदेश फर्किने कार्यक्रम छ । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here