मकवानपुरमा कुनै सरकारी भवनको नक्सा पास भएको छैन

36
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ५ – मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर एक चौकी टोलमा श्रम कार्यालयको साढे ६ तले भवन बनिरहेको छ । दुई वर्ष अघिदेखि बनिरहेको यो भवन पाँच करोड ८३ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ । चौकी टोलमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको सुविधासम्पन्न भवन पनि बनिरहेको छ । कार्यालयको दुईतलाको भवन ढलान गरेर बाहिरी इट्टाको पर्खाल पनि उठाइएको छ । अख्तियारको यही भवनसँगै प्रहरी ब्यारेकका लागि अर्को तीन तलाको ३९ कोठे भवन पनि निर्माण भइरहेको छ । २०७१ साल फागुन १४ गतेदेखि निर्माणको काम सुरु गरिएको हो । यी भवनका आकारप्रकार रुपरंग फरक भएपनि एउटा समानता छ  त्यो हो यी कुनै पनि भवनको नक्सा पास गरिएको छैन । हेटौंडामा भवन प्रबिधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरले प्राविधिक सहयोग गर्ने गरी सरकारी कार्यालयका ठूला आठवटा भवन बनिरहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, फापरबारी स्वास्थ्यचौकी, प्राथमिक स्वाथ्य केन्द्र पालुङ, हटिया हेल्थ पोष्ट, क्षेत्रीय बिउबिजन प्रयोगशाला, लगायत छन् । यी मात्र होइन हेटौंडामा कुनै पनि सरकारी कार्यालयका भवनको नक्सा पास नगरिएको हेटौंडा उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । अरु त के कुरा नक्सा पास गर्नुपर्ने हेटौंडा उपमहानगरपालिका कार्यालयले नै पनि नक्सा पास नगरी भवन बनाएको छ । भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ईन्जिनियर श्यामसुन्दर झाले सरकारी कार्यालयको भवनपनि व्यक्तिकै जसरी नै नक्सा पास गरेर मात्र बनाउन थाल्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । श्रम कार्यालय मकवानपुरका प्रमुख श्यामकुमार श्रेष्ठले पनि नक्सा पास नभई भवन निर्माण हुनु गलत भएको बताउनुहुन्छ । ‘नक्सा पास नभइ भवन बन्नु राम्रो होइन, श्रम विभागबाट ठेक्का लगाएर काम भएकाले यसबारेमा मलाई धेरै थाहा छैन’ उहाँले भन्नुभयो ‘भवन बनिसकेर कार्यालयको जिम्मामा आएपछि भएपनि नक्सा पास गराउँछु ।’ मकवानपुरका ३५ वटा गाविस, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा रहेका ६ सय वटा सरकारी विद्यालय, गाउँका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, गाविस कार्यालयहरु कुनैपनि सरकारी भवनको नक्सा पास गरिएको छैन । नक्सै पास नगरिकन भवन निर्माण गरेर सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिका भित्र बन्ने सबै घर नक्सा पास गरेर मात्र बनाउन पाउने गरी २०६७ साल माघ १ गतेबाट भवन संहिता लागू गरिएको हो । उपमहानगर क्षेत्रभित्र सबैजसोले नक्सा पास गरेर मात्र घर बनाउने गरेको उपमहानगरपालिकाको भवन इजाजत महाशाखाका ईन्जिनियर सत्यनारायण साहले बताउनुभयो । उपमहानगरपालिका भित्र लगभग ३० हजार घरधुरी छन् । हेटौंडा उपमहानगरपालिकामा पछि गाभिएका हटिया, हर्नामाढी, चुरीयामाई, पदमपोखरी, बसामाडी गाविसको भन्दा बाहेक साबिकको हेटौंडा नगरपालिकाकाको २० हजार घरले नक्सा पास गरेका छन् । तर सरकारी कार्यालयहरुलाई कसले कडाई गर्ने कसले नियम कार्यालयन गर्न लगाउने समस्या रहेको उहाँले बताउनुभयो ।

नक्सा पास गराउने उपमहानगरपालिकाकै कार्यालयको नक्सा पास छैन

हेटौडा उपमहानगरपालिकाले सामान्य नागरिकलाई नक्सा पास नगरी घर बनाए खानेपानी र बिजुलीको सुविधा कटौती गर्नेगरेको छ । तर नक्सा पास गर्ने निकाय अर्थात हेटाैंडा उपमहानगरपालिकाको आफ्नै भवनको नक्सा भने अहिलेसम्म पनि पास गरेको छैन । उपमहानगरपालिकाले पाँच वर्ष अघि सुविधा सम्पन्न चारतले भवन बनाएको हो । जसमा ६० वटा भन्दा बढी कोठा र एउटा हल छ । हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्यायले उपमहानगरपालिकाको २९ वटै वडा कार्यालयका भवन पनि नक्सा पास नगरिएको जानकारी दिनुभयो । उपमहानगरपालिकाले २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि भवन संहिता लागू गर्न कडाई गरेको बताए पनि त्यसपछि बनेका सरकारी भवनको नक्सा पास गरिएको छैन ।

नक्सा पासका लागि बजेट अभाव

सरकारले भवन निर्माणका लागि करोडौ रुपैयाँ पठाए पनि नक्सा पासका लागि रकम नपठाउँदा समस्या परेको सरकारी कार्यालयका प्रमुखहरुले बताएका छन् । हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत शंकर उपाध्यायले भवन निर्माण सकिए पनि नक्सा पासका लागि तिर्नुपर्ने राजश्व बापतको रकम नभएकाले नक्सा पास नगरिएको बताउनुभयो । राजस्वका लागि ४ लाख रुपैयाँ लाग्छ । उहाँले अब रकमको बन्दोबस्त गरेर छिट्टै नै भवनको नक्सा पास गर्ने बताउनुभयो । नक्सा पास गर्न बजेट नआएरपनि नक्सा पास हुन नसकेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ईन्जिनियर श्यामसुन्दर झा बताउनुहुन्छ । नक्सा पास गर्ने रकम चाहियो भनेर कुनै पनि कार्यालयले ताकेता नगर्ने र नक्सा पास गर्नका लागि भनेर बजेट पनि नआउने भएकालेपनि समस्या भएको उहाँको भनाई छ ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here