राजधानी र भाषाको विवादमा फस्दै २ नम्बर प्रदेश

9
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२८-

प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन ।  सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो ।

राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ ।  राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं २ को आठ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका छन् । विवाद चुलिनुका कारणमध्ये कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा आफ्नो मातृभाषालाई बेवास्ता गरी अन्य भाषालाई मातृभाषा भनी उल्लेख गर्नुलाई मानिएको छ । शपथका दिन १०७ प्रदेशसभा सदस्यमध्ये मैथिली भाषामा ४७, भोजपुरी भाषामा २५, नेपाली भाषामा २४ र ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए । हिन्दी भाषामा शपथ लिनेमध्ये अधिकांशको मातृभाषा मैथिली रहेको अवस्थामा हिन्दीमा शपथ लिनुको अर्थ के थियो ? भन्ने प्रश्नले मैथिली मातृभाषीबीच चिन्ताको विषय बनेको बेलामा नै मैथिली भाषामा शपथ लिएकामध्येबाटै एक जना सदस्यले प्रदेशसभाको प्रथम बैठकमा हिन्दीमा बोलेपछि मातृभाषाको उपेक्षा गर्ने सदस्यलाई लक्षित विरोधका स्वर र कार्यक्रमले निरन्तरता पाएको देखिएको छ ।

मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ । वाल्मिकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएको अनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेका बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणले सरल ढंगले बुझ्ने भएकाले एकआपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो ।

डा.दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्यको ‘इतिहास’ नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ । वेद, पुराण, उपनिषद, मिमांशामा वर्णित वातावरण , वनस्पति, जीवजन्तु, मिथिलासँग मेल खान्छन् । जनक वंशको उदयपछि विधिवत्रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो । इतिहासकारले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यसबीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात तीनतिरबाट घेरिएको भनिन्छ ।

आठौँ शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ । त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले उपलब्ध छ । यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा लिएको उपलब्ध छ । भाषाविद् डा.रामावतार यादवका अनुसार राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८औँ शताब्दीभित्र लेखिएको नाटकको १ सय ५० पाण्डुलिपि रहेकामध्ये मैथिलीमा ११५, नेवारीमा २६ र बंगालीमा पाँच वटा रहेका छन् । अहिलेसम्म पुष्टिका आधारमा भारतीय आर्य समुदायका २८ भाषामध्ये मराठीपछि मैथिली नै पुरानो रहेको छ ।

उन्नाइसौँ शताब्दीमा जर्ज अब्राह्म गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ । इतिहासकार डा.तुलसीराम वैद्यद्वारा सिम्रोनगढमा गरिएको अनुसन्धानबाट कर्णाटवंशीय राजाको शासन कालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त भएको देखिन्छ । चौधौं शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाको कामकाज मैथिली भाषामा हुन्थ्यो । १४औँ शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो ।

सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्यपद्यको रचना गरेका थिए । विद्यापतिलाई रवीन्द्रनाथ टैगोरलेसमेत काव्य गुरू स्वीकार गरेका छन् । विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा बास बसेका बेला भागवत् गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधार विद्यमान छ । पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको कामकाजको भाषा मैथिली रहेको पाइन्छ । मल्ल राजा मैथिलीमा बोल्थे, साहित्य पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजको मान्यता दिएको देखिन्छ । पछि राजा महेन्द्रले ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ नीतिको नाममा मैथिली भाषा–संंस्कृतिमाथि प्रहार गरी पहिचानलाई समाप्त गर्ने पड्यन्त्र गरिएको अध्याय इतिहासमा पाइन्छ । बिडम्वना त्यही परिदृश्य देखा पर्नु चिन्तनीय पक्ष हो । प्रदेश सभासदस्यले मैथिली भाषा–संस्कृतिको महिमा गाउने तर यसको जीवन्ताको सवालमा मौन बस्ने क्रियाकलाप सोचनीय अवस्था हो ।

यस अवस्थामा इतिहास, व्यवहार र वैज्ञानिक सिद्ध आधारमा समृद्ध मैथिली भाषाको अस्तित्व नै संकट पार्नेविरूद्धको भाषिक आन्दोलनलाई अतिक्रमणको मारबाट बचाउने अभियानका रूपमा लिनु जरूरी देखिएको छ । किनकी भाषाको सम्बन्ध संस्कृति, सभ्यता, स्वाभिमान र पहिचानसँग गासिएको छ । यसलाई समाजको सामूहिक एकता, उन्नति, प्रगति र क्रान्तिकारी परिवर्तनको अनिवार्य साधन मानिएको छ । विगतका शाहकालका शासकले सत्ता, हैकम, राजनीति कायम गर्न मैथिली भाषाप्रति गरेको प्रहारका कारण मथिली भाषा आफ्नो पुरानो अस्तित्वको खोजमा रहेको छ । आफ्नो लिपि छ, स्रष्टा छन् तर उपेक्षित छन् ।

संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ । यसैअन्तर्गत वंशगत शिल्प, वस्तु, धारणा, प्रक्रिया, अभ्यास तथा मूल्य समावेश रहेको हुन्छ । संस्कृतिलाई जिन्दगीको तरिका र सभ्यताको परिचायक मानिएको छ । यसअन्तर्गत हामी जे गर्छौं त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ, यस कारण पनि प्रदेश नंं २ का प्रदेश सभासदस्यसमक्ष यसको वैशिष्टतालाई कसरी कायम राख्ने गहन जिम्मेवारी काँधमा छ ।

प्रदेशसभाका गतिविधिलाई अवसर र चुनौतीका रूपमा लिनु आवश्यक छ । विरोधका स्वर मैथिल संस्कृतिको सरसता, समरसता एवं संवेदनशीलताप्रतिको जागरणका अर्थमा ग्रहण गर्नु पर्दछ । किनकी संस्कृतिको विनाश सजिलो हुँदैन, संस्कृतिको रचना केही वर्षमा हुँदैन । अनेकौँ शताब्दीमा कुनै जात र देशको संस्कृतिको निर्माण निर्माण हुन्छ । संस्कार वा शरीरको होइन, आत्माको गुण हो । सभ्यताका साथ शरीर विलीन हुन्छ तर संस्कृतिको प्रभाव आत्माका साथ जन्मजन्मान्तरसम्म बनिरहन्छ । अतःप्रदेश नं २ का प्रदेशसभा सदस्यले प्रदेशसभालाई जनकपुरधामको गौरवको रक्षा र मैथिल संस्कृतिको प्रवद्र्धनमुखी अभियानमा पनि ध्यान केन्द्रित गरेमा चुलिएको प्रसंग सलाउँदै जाने निश्चित देखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here