विद्यालयमा बम राखिएको घटनाप्रति चौतर्फी विरोध, बम राखेको आरोपमा दुई जना पक्राउ

35
Want create site? Find Free WordPress Themes and plugins.

असोज ४ – काठमाडौ र ललितपुरका विभिन्न विद्यालयमा बम र शंकास्पद बस्तु राखेर आतंकित पार्ने कामको चौतर्फी विरोध भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय शान्ति क्षेत्र भएकाले त्यसको सम्मान गर्न सबैलाई आग्रह गरेको छ । काठमाडौं र ललितपुरका ११ वटा विद्यालयमा बम राखेर आतंक फैलाइएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सुरक्षित तथा शान्त वातावरणमा पठनपाठन संचालन गर्न सहयोग पु¥याउन सरकार र आयोगले सबैमा आग्रह समेत गरेको छ । मानवअधिकार आयोगले मंगलबार प्रभावित विद्यालयको अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । यस्तै शिक्षा मन्त्रालयले विवादका विषय संवादबाट पूरा गर्न सकिने भन्दै विद्यालयलाई आक्रमणको निशाना बनाउनु अशोभनीय भएको बताएको छ । यस्तै, केन्द्रिय बाल कल्याण समिति, संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ, विभिन्न राजनीतिक दलले पनि विद्यालयमा वम राखिएको घटना प्रति भत्सर्ना गर्दै बालबालिकाको पढ्ने अधिकारको सम्मान गर्न आग्रह गरेका छन् । मंगलबार बिहान काठमाडौं जोरपाटीको मनकामना उच्च माध्यमिक विद्यालय र आकाशदीप विद्यालयमा बम विष्फोट भएको थियो । स्वयम्भू, महाराजगन्ज, सानेपा, बौद्ध जोरपाटीलगायत ठाउँका ९ वटा विद्यालयमा राखिएका बम तथा शंकास्पद वस्तु सुरक्षा निकायले निष्कृय पारेका थिए । घटनामा संलग्न भएको आरोपमा शंकर लाखे र चन्द्र तामाङलाई जोरपाटी दक्षिणढोकाबाट पक्राउ गरिएको प्रहरीको काठमाडौ परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समितिको नामको पर्चा भेटिएको छ । यो समूहले शुल्क वृद्धि फिर्ता लिनुपर्ने, कम आय भएकाका छोराछोरीलाई निशुल्क पठनपाठन गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ । केही समय अघि यही समूहले सीतापाइलामा एउटा निजी विद्यालयको बस जलाएको थियो । ११ वटा विद्यालयमा बम आतंकको घटनापछि निजी विद्यालय सञ्चालकले सुरक्षाको माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन एनप्याब्सन र उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसानका पदाधिकारीको आपतकालिन बैठकले सरकारसँग सुरक्षा माग्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिनुभयो । यस्तै, उनीहरुले बम राख्नेलाई कारबाही गर्न पनि माग समेत गरेका छन् । विद्यालय शान्ति क्षेत्र भएपनि यस्ता गतिविधिले विद्यार्थीको पढ्ने मनोविज्ञानमा असर गर्ने भन्दै निजी विद्यालय सञ्चालकले विद्यालयमा शान्ति कायम राख्न सबैलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here