सोसल मिडियामा एकाएक भाइरल बनेकि गोरखाकी कुसुम श्रेष्ठ

45
Want create site? Find Free WordPress Themes and plugins.

कार्तिक,२०
सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, ‘दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।’ गत कात्तिक १२ गते काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर आफ्नो फेसबुकमा राखेका थिए । महर्जनले फेसबुकमा राखेको कुसुमको उक्त तस्बिर केही समयमा नै तरकारीवाली ह्यासट्याग राखेर फेसबुक र ट्विटरमा भाइरल बन्यो । त्यतिमात्रै होइन फोटो भाइरल बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समाचार नै बनाए ।

कतिले त उनलाई पाकिस्तानको ‘चायावाला’ सँग दाज्दै समाचारका हेडलाइन् पनि बनाए ।
सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, ‘एकछिन म अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।’कुरा सुनेको दिन उनलाई त्यति धेरै निन्द्रा परेन । घरी यता फर्किने उता फर्किने गर्दैमा रात कट्यो । बुबा आमाले पनि सुरुमा त किन फोटो दिएको भनेर पनि हकार्नु भयो । तर भोलिपल्ट फोटो खिच्ने उनै रुपचन्द्रले फोन गरेर फोटो भाइरल भएको र यसले नराम्रो भन्दा राम्रो काम गर्ने बताएपछि ढुक्क बनिन् । फोटो भाइरल बनेपछि उनलाई फोनको घण्टी बजेको बज्यै छ । शुक्रबार चितवनको फिस्लिङबाट गोरखा भुम्लिचोक जाँदै गर्दा उनले भनिन्, ‘अहिले सामान्य लाग्न थालेको छ । मानिसहरुले फोन गरेको गर्‍यै छन् । बधाइ दिएका छन् । पत्रकार पनि भेटुम भनिरहेका छन् ।’ हेल्लो तरकारीवाली बोल्या हो ?, बधाइ छ है, म पत्रकार कुराकानी गर्नुछ, फिल्म खेल्ने हो, मोडलिङमा रुची छ कि छैन? यस्ता अनेकन प्रश्न गर्दै फोन आउने उनले सुनाइन् । त्यति धेरै खुलेर नबोल्ने स्वभावकी उनी बोल्दा नर्भस जस्तै देखिन्थिन् । ४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् उनी । सामान्य किसान परिवारकी उनी दसैंतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यहीबेला घरकी एक्ली सन्तान कुसुमले सदाका झैं बाबुआमालाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । उनी भन्छिन्, ‘फिस्लिङ पारीसम्म गाडीमा तरकारी ल्याएपछि फिस्लिङ पुर्‍याउन क्रेटमा बोकेको थिएँ । त्यो बेला फोटो खिचेको याद पनि थिएन । बेलाबेलामा यस्तो फोटो खिचिरहेका हुन्थे । यादै भएन । तर यो त भाइरल पो बनेछ ।’उनले ज्ञानमार्ग उच्चमावि घ्याल्चोकबाट सि प्लस श्रेणीमा गत वर्ष एसएलसी पास गरेकी हुन् । एसएलसीपछि स्टाफ नर्स बन्ने रहर बोकेकी उनले पढाइ अलि कमजोर भएकोले त्यतातिर आँट नै गरिनन् । उनी भन्छिन्, ‘म त्यतिधेरै जान्ने विद्यार्थी होइन । त्यसैले नर्सतिर लागिनँ ।’ उनी अहिले चितवनको केष्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्दै छिन् । जिन्दगीमा यो बन्छु, उ बन्छु भनेर कमै उद्देश्य बोकेकी कुसुम एकाएक चर्चामा आएपछि भने मोडलिङतिर ध्यान जान थालेको बताउँछिन् । उनी भन्छिन्, ‘तीनदिनअघिसम्म पनि मोडल बन्छु भन्ने कल्पनै गरेको थिइनँ । तर अब अवसर पाएँ भने मोडलिङ गर्छु भन्ने लागेको छ।’
साथीभाइको बधाइ, पत्रकारसँगको भेटघाटले निकै थकित भएकी उनले अहिलेसम्म यति धेरै मानिसहरुसँग कुराकानी नगरेको बताउँछिन् । त्यसैलेपनि आफू अलि नर्भस बनेको उनको भनाइ छ । उनलाई सुरुमा त बोल्न पनि डर लागेको थियो । भन्छिन्, ‘बोल्दा पनि काँप्थेँ । अहिले अलि बानी परेको छ ।’
तरकारीवाली भनेर भन्दा कस्तो लाग्छ त? उनले मन्द मुस्कानमा भनिन्, ‘किसानकी छोरीलाई तरकारीवाली भन्दा के भो त ?’सोसल मिडियामा उनको फोटोलाई लिएर राम्रोसँगै नराम्रो कमेन्ट पनि आउन थालेपछि भने मन दुखेको छ । उनले सोसल मिडिया प्रयोगकर्तालाई विशेष आग्रह गर्दै भनेकी छन्, ‘प्लिज नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here