११ दिनमा प्रधानमन्त्रीका ८ निर्देशन

33
Want create site? Find Free WordPress Themes and plugins.

साउन ३२ – सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैनिक जसो कुनै न कुनै निर्देशन दिँदै आउनुभएको छ । २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उहाँले कहिले, कसलाई, कस्तो निर्देशन दिनुभयो ?

पहिलो निर्देशन: सरकारको नेतृत्व गरेको तेस्रो दिने साउन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवलाई तीन दिनभित्र परिणाममुखी योजना पेश गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर सचिवलाई उहाँले भन्नुभयो ‘समय थोरै छ, चुनौतिपूर्ण समय छ, काम धेरै छन् मन्त्रालयको प्राथमिकता र कार्ययोजना तोकेर तीन दिनभित्र मुख्य सचिव मार्फत मलाई ठोस योजना दिनुपर्छ । परिणाम निकाल्ने तपाईको कार्यतालिका पनि चाहिन्छ । निर्मम बनेर परिणाम निकालौं ।’

दोस्रो निर्देशन: सचिवलाई तीन दिनभित्र परिणाममुखी योजना पेश गर्न निर्देशन दिएको भोलिपल्टै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मातहतका कर्मचारीको सामूहिक बैठक गरी सरकारको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले सचिवस्तरीय बैठकमा सरकारको प्राथमिकता र योजनाबारे निर्देशन गरेको जानकारी गराउदै युद्धस्तरमा काम गर्न निर्देशन दिनुभयो ।

तेस्रो निर्देशन: त्यही दिन प्रधानमन्त्री दाहालले परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिनुभयो ।

‘साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको खबर आएको छ । यथार्थ बुझेर तुरुन्तै उनीलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

चौथो निर्देशन: साउन २६ गते प्रधानमन्त्री प्रचण्डले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । यसलाई नियन्त्रण गर्न र नागरिकलाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छु ।’

पाँचौं निर्देशन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र सचिव शंकरदास बैरागीलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर साउन २८ गते दोस्रो पटक निर्देशन दिनुभयो । त्यसअघि बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिनुभएको थियो । यसपटक उहाँले खाडीका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’

छैटौं निर्देशन:  प्रधानमन्त्री दाहालले छैटौं निर्देशनको रुपमा नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरलाई बिरामी गर्न नदिन स्वास्थ्य सचिवलाई निर्देशन दिनुभयो ।

साउन ३० गते प्रधानमन्त्री दाहालले स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमा भन्नुभयो ‘नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ, तपाईले तत्काल ती डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।’

सातौं निर्देशन: प्रधानमन्त्री प्रचण्डले म्याद नाघेका बस्तुहरु उपभोक्तालाई बिक्री गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन निर्देशन दिनुभयो । बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखलाई नियमित अनुगमनका रुपमा नभई परिणाम निस्कने गरी काम गर्न उहाँले निर्देशन दिनुभएको हो ।

आठौं निर्देशन: प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले घाइतेको उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here