द्यौता हुन् जननी पुजौं र मनमा राखेर श्रद्धा गरौं
आमाको अनुहार हर्षित बनोस् सद्भाव हामी गरौं
दिन्छौ हर्ष मलाई लोभ नगरी दानी र निस्वार्थि छौ।
तिम्रै काख भरी छ मिल्दछ खुसी आमा तिमी स्वर्ग हौ।
भोको पेट बसेर हाँस्न पनि ती सक्छिन् अहो के गरी ?
जस्तै प्रेम गरोस् न अन्य जनले को हुन्छ आमा सरी?
ऐया भन्नु अगाडि नै सबजना आमा भनी जप्दछन्
मेरा जीवन भित्र छन् जति खुसी आमा सँगै खस्दछन्।
हाम्रो दु:ख घटाउछिन् तर खुसी पार्छिन् सधैं दोब्बर
लाग्दो हो सब अन्धकार बिचरा आमा बिनाका घर।
साट्ने हर्ष बढाउने सुख सधैं सन्तृप्त आधार हुन्
हाम्रो जीवन रच्दछिन् र भनियो आमा कलाकार हुन्।
सुनिता सापकोटा
भोजपुर
छन्द- सार्दुलबिक्रीडित
-सिर्जना मन्च अन्लाईन बाट सभार