असार,१-

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभएकाे छ । कांग्रेस झापाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।”

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उहाँको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उहाँले भन्नुभयो, “सुनेको भरमा धारणा बनाउनु हुँदैन ।” मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उहाँको भनाइ थियो । 

प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाउनुभयो । यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताउनुभयो ।

– रासस

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्