जेठ,२६-

जुम्लाको गुठिचौर गाउँपालिकाले गाउँपालिकाभित्रका सबै नाका सिल गरेको छ । कोरानाभाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि यहाँका सबै नाका सिल गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयको माग र वर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सिल गरिएको हो । गाउँपालिका भित्र पर्ने छिमेकी जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सिल गरिएको छ । ‘अपरिचित व्यक्तिलाइ वडा प्रवेश गर्न पनि निषेध गरिएको छ । एक वडाबाट अर्काे वडामा आवत जावतमा पनि कडाई गरेका छौँ, भण्डारीले भने,‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएका छौँ ।’

गाउँकार्यपालिकाको बैठकले पालिका भित्रका सबै नाकाहरु पूर्ण रुपमा अर्काे सूचना जारी नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको हो । गाउँपालिकाले कोराना भाइरस संक्रमण हुन नदिनको लागि स्थानीय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनहिरुले कोराना संक्रमण फैलन नदिनको लागि स्थानीय स्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सबै वडाका नागरिकलाई भिडभाड नगर्न, विकास निर्माणका काममा सामाजिक दुरी कामय गर्न र माक्स र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । गुठीचौर गाउँपालिकामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार दानसाँघु नाकामा आवतजावतमा बन्द गरिएको छ । दानसाँघु नाका हुदैँ धमाधम मानिसहरु प्रवेश गर्न थालेपछि गाउँपालिकाले कडाइ गरेको हो । सिल गरिएको नाकाबाट कोही ब्यक्ति गाउँ प्रवेश गरेको खण्डमा स्थानीय सरकारको निर्णय अनुसार जरिवाना गरिनेछ । गाउँपालिका भित्र भित्रिने जो सुकैलाई क्वारेन्टिनमा राखिने भएको हो । गाउँपालिका र वडाका आन्तरिक काम बाहेक सबै कामहरु पहिलेकै रफ्तारमा नहुने भएका छन् ।

सिंगो देश कोराना संक्रमण बिरुद्धको युद्धमा भएकोले सबैले उच्च सतर्कता अपनाउनु पर्ने बेला आइपुगेको छ । कर्णाली राजमार्गमा सवारीआवागन ठप्प भएपछि जाजरकोट र डोल्पाका मानिसहरु गुठिचौर हुदैँ जुम्ला खलंगामा आउँथे । अहिले सबै नाका सिल हुदाँ आवतजावत ठप्प भएको छ । यो गाउँपालिका हुदै डोल्पा तथा जुम्लाका पाटनमा यार्सा संकलन गर्न जाने स्थानीयले पनि जान पाएका छैनन् । ‘यो समय सबै सतर्क हुने समय हो’, गाउँपालिका अध्यक्ष भण्डारी भन्छन्,‘जोखिमबाट बच्न सबै सतर्क हौँ,आफु सुरक्षित बनौँ, अरुलाई सुरक्षित बनाऔँ यही नै मानवीय धर्म सावित हुनेछ ।’

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्