नेपालको विभिन्न ठाउ सहित सलह किरा, मकवानपुरको पूर्वी क्षेत्रमा पनि देखियो

असार,१३-

नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने । दुवै जिल्लामा प्राविधिकसहितकाे टाेली परिचालन भइसकेकाे प्रवक्ता डा.केसीले बताए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

सलहले मकवानपुरमा मकैबालीमा क्षति पुर्‍यायो

हेटौंडा उपमहानगरपालिकासँग सीमाना जोडिएको मकवानपुर गढी र बकैया गाउँपालिकामा सलह कीरा देखिएको छ । शनिवार बिहान मकवानपुरको पूर्वीक्षेत्र बकैया गाउँपालिका, हेटौंडाको हर्नामाडीको केही क्षेत्र र गढीमा देखिएको हो । मकवानपुर गढी गाउँपालिका वडा नं २ र ३ मा सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले जानकारी दिइन् । उपाध्यक्ष रुम्बाका अनुसार सलह कीराको एक हुल उडेर मकवानपुर गढी–३ धमिलेस्थित दोर्जे लामा स्याङतानको मकैबालीमा क्षति पुर्‍याएको हो । सलह कीरा देखिएसँगै त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

केहीले टिनको छाना बजाउने, थाल बजाउने गर्दै भागाभाग भईरहेको उपाध्यक्ष रुम्बाले बताइन् । त्यस्तै मकवानपुरको बकैया गाउँपालिका तथा हेटौंडाको वडा नं १८ को केहि क्षेत्रमा समेत सलह किरा देखिएको छ । बकैया गाउँपालिकाको बारा जिल्लासंग जोडिएको वडा नम्बर १, २, र ७ का विभिन्न क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् । सलह कीरा शनिवार बिहान मात्रै छिमेकी जिल्ला बारा, पर्सा, सर्लाहीमा प्रबेश गरेको थियो । सलह मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो । मकवानपुरसँग सीमाना जोडिएको बारामा देखिएको सलह कीरा बकैयाको विभिन्न क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् ।

सलह आएको विषयमा आफुलाई स्थानीय जनप्रतिनिधि तथा नागरिकले खबर गरेको बताउँदै बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले यो विषयमा थप जानकारी लिइरहेको बताइन् । बकैया–७ हात्तिखोलाका अनुराग फुँयालले हजारौंको संख्यामा सलह कीरा मकैबारीमा देखिएको बताए । बकैया–४ का विष्णु थापाले पनि बिहानैबाट हजारौंको संख्यामा सलह देखा परेको जानकारी दिएका छन् । खेतबारीको अन्नबाली सखाप पार्ने भयले स्थानीय किसान चिन्तित बनेका छन् ।

साभार-आर्थिक अभियान अनलाइनबाट

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्