नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए,थप एकको मृत्यु

जेठ,३०-

पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

थप एकको मृत्यु

मन्त्रालयकाअनुसार अर्घाखाँची, मालारानी गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका उनी बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएको थियो । उपचारका क्रममा मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्