नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ : नेता भण्डारी

साउन,४-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज शिलान्यास गर्दै उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए । धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उनले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राखे । नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ ।

विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उनको भनाइ थियो । उनले भने, “गौ मातालाई स्वास्थ्य राख्नका लागि  पौष्टिक आहार व्यवस्था गर्नुपर्छ ।”जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गौ संरक्षणले फोहर र सवारी दुर्घटनामा न्यूनीकरण आएको बताए । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले गाईलाई हेलाको दृष्टि हेर्न थालेकाले गाईको महत्वका बारेमा जनचेतना जगाउनु तथा गाईको मूत्र प्रशोधन गरेर औषधि बनाउनुपर्नेमा जोड दिए । 

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको रु पाँच लाखको सहयोगमा ट्रष्ट निर्माण गर्न लागिएको हो । व्यास नगरपालिकाले केन्द्रका लागि रु १२ लाख सहयोग गरेको छ । केन्द्रमा हाल सानाठूला गरी ५० वटा गाई राखिएको छ । केन्द्र सञ्चालनका लागि करिब ३०० रोपनी सार्वजनिक जग्गा भएको वडाले जनाएको छ । 

-रासस

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्