रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन् र मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितीमा पुरा पर्यवरण सन्तुलन नै बिग्रन्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी । हाम्रा पूर्खाहरुले यो कुरालाई निकै गहन र मिहिन ढंगले अनुभूत गरेका थिए । त्यसैले उनीहरुले प्रकृतिलाई पूज्दै आए । प्रकृतिलाई नै ‘देउता’ माने, जो दृश्य÷अदृश्य रुपमा सर्वत्र छाएका छन् । बोट–बिरुवा, वनजंगल, हावा, पानीदेखि चराचुरुंगी, सर्पसम्म मानव जीवनका अभिन्न सहयात्री हुन् भन्ने बोध गरेर यिनीहरुको पूजा गर्ने र संरक्षण गर्ने विधी अपनाए ।

रुख रोप्नुलाई ‘पूण्यको काम’ भनी सामाजिक संस्कारको विकास गरे । त्यही अनुसार पूर्खाहरुले दैनिक उपभोग (घाँस, दाउरा, काठ) आदिका लागि मात्र नभई पर्यावरणका हिसाबले पनि रुख–बिरुवा लगाउने र संरक्षण गर्ने थीति बसाले ।

त्यसैले त ठाउँ–ठाउँमा अहिलेपनि बर–पीपलको रुख भेटिन्छन्, जो हाम्रा पूर्खाले आफ्नो उपभोगका लागि रोपेका थिएनन् । बाटोमा हिँड्ने बटुवाहरु विसौनी बनाइदिएका थिए, जहाँ सिलत छहारीमा थकाइ मार्न सकियोस् ।

आयुर्वेदले पीपलको रुखलाई औषधिय महत्वको भनी उच्च श्रेणीको वनस्पतिमा राखेको छ । पिपलको पात, बोक्रा सबैमा औषधिय गुण हुन्छ । पीपलले वायु शुद्धिकरणमा समेत भूमिका खेल्ने बताइन्छ ।

पूर्खाहरुले यस्ता वनस्पतिको पहिचान गरे, जो औषधिय गुणले भरिपूर्ण छ । प्राणी जगत र पर्यावरणका लागि अति महत्वपूर्ण छ । त्यस्ता वनस्पतिको महिमालाई दर्शाउन ‘देवता’कै नाम दिए । जस्तो, पीपलाई ‘विष्णु’को अवतार मानिएको छ । धार्मिक विधान अनुसार यसलाई काट्न वा मास्न बर्जित छ ।

स्कन्द पुराणमा पीपलको वृक्षमा सबै देवताको वास हुने बताइएको छ । पीपलको छहारीमा जुन अक्सिजन मिल्छ, त्यसले आरोग्यवद्र्धक वातावरण निर्माण गर्छ । कुनैपनि कुरालाई धर्मसँग जोडिदिएपछि मान्छेहरु बढी सर्तक र संवेदनशिल हुन्छन् भनेर पनि बोट–बिरुवाको महत्व बुझाउन एवं संरक्षण गर्ने यस्तो विधी अपनाइएको पाइन्छ ।

गाउँघरमा अझैपनि ‘देवीथान’ भनेर निश्चित स्थानमा पूजाआजा गर्ने गरिन्छ । यस्तो स्थान ठूलो रुखको छहारीमा हुनेगर्छ । उक्त रुख काट्न, मास्न त के त्यसको घाँस–दाउरा गर्न पनि निषेध गरिएको हुन्छ । अतः यसरी ‘देवताको थान’ बनाएका आसपासमा पानीको मूल एवं मुहान भेटिन्छन् । पानीको स्रोत बचाइराख्न रुख वा वनजंगलको भूमिका हुन्छ भन्ने बुझेर नै उनीहरुले यस्तो तरिका अपनाएका हुन सक्छन् । त्यही अनुसार गाउँघरमा पानीको स्रोत एवं मुहान भएको आसपासको जंगल सुरक्षित राख्ने गरिन्छ ।

तुलसीलाई हाम्रा पूर्खाहरुले ‘पूज्य वनस्पति’को श्रेणीमा राखेर उच्च महत्व दिदै आए । तुलसी घरको आँगनमा रोप्ने थिती मात्र बसाएनन्, कहिले यसको बिज राख्ने, कहिले रोप्ने भन्ने विधी–विधान समेत सिकाए । त्यही अनुसार आज पनि तुलसीको बिज राख्ने, रोप्ने, गोडमेल गर्ने गरिन्छ ।

तुलसी आफैमा औषधिय गुणले भरिपूर्ण वनस्पति हो । यसले वायु शुद्धिकरणमा समेत भूमिका खेल्ने बताइन्छ । त्यही कारण घरको अघिल्तिर तुलसीलाई मठ बनाएर रोप्दा घरमा ‘शुभ’ हुन्छ भन्ने जन–विश्वास रह्यो । हाम्रो प्राचिन शास्त्रहरुमा समेत वनस्पती एवं बोट बिरुवा रोप्नुलाई ‘धर्म’ एवं ‘पूण्य’को काम भनिएको छ । शास्त्र अनुसार पिपल, नीम, बेल, अमला एवं आँपको रुख रोपेमा पूण्य प्राप्त हुने बताइएको छ । प्रचिन शास्त्रहरुमा यी सबै किसिमको वृक्षहरुको महत्वको विवेचना गरिएको छ ।

वास्तवमा रुख–बिरुवामा नै हामी सम्पूर्ण रुपले आश्रित छौं । चाहे पल–पल लिने अक्सिजनको कुरा गरौं, वा दैनिक खाँचो टार्न घाँस–दाउराकै । रुख–बिरुवा हाम्रो प्राणको अभिन्न स्रोत हो, जसलाई अलग गर्न साथ हाम्रो अस्तित्व नै धरापमा पर्छ । त्यसबाहेक चराचुरंगी, जीवजन्तु, किराफट्यांग्रा सबैलाई सुरक्षित आश्रय दिने पनि रुख–विरुवा नै हुन् । सुक्ष्म जीवाणुदेखि झारपातसम्मलाई संरक्षण गर्ने रुख–विरुवा नै हुन् । जैविक विविधतालाई आफुभित्र समेटेर बाँचेको रुख–विरुवाले नै समग्र पर्यावरणलाई सन्तुलनमा राख्ने भूमिका खेलिरहेको छ । भूक्षय रोक्नदेखि पानीको स्रोत सुरक्षित गर्नसम्म यसको भूमिका छ ।रुख–विरुवाको यो महत्वलाई बुझेर, मनन गरेर हाम्रा पूर्खाहरुले पुस्तौ–पुस्ताले यसको संरक्षण गरोस् भनी धार्मिक विधान एवं सामाजिक थिति बसाउँदै आए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्