असार,१५-

आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीले खुलासा गरेका छन् । हाल अल–सादको म्यानेजर रहेका ज्याभीलाई यसअघि बार्साले अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदार मानिएको थियो । तर, क्वीके सेटिनलाई गत जनवरीमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको थियो । यो सिजन बार्सा स्थिर प्रदर्शन गर्न संघर्षरत छ । ला लिगामा ६ खेल बाँकी छँदा टोली चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । बार्सिलोनासँगको भविष्यबारे चर्चा गर्दै ४० वर्षीय स्पेनिसले आफ्नो निर्णय स्वतन्त्ररुपमा लागु गर्ने छुट नभएसम्म क्लबमा नफर्कने पनि बताए । ‘अहिले मेरो सबैभन्दा ठूलो आशा भनेको बार्साको प्रशिक्षक बन्ने र क्लबलाई जीतको बाटोमा डोर्याउने हो,’ अल–सादलाई कतारी सुपरकप र कतार कपको उपाधि दिलाएका स्पोर्टसँग कुराकानी गर्दै ज्याभीले भने ।

‘हाम्रो प्राविधिक स्टाफले यसका लागि धेरै तयारी गरिरहेका छन् । यसले हामीलाई निकै उत्साहित बनाउँछन्,’ उनले भने । बार्सामा रहँदा ज्याभीले २५ वटा उपाधि जितेका थिए, ‘म क्लबको हुँ । म सही समयमा क्लब फर्कन चाहन्छु । मैले धेरै पटक भनेको छु म बार्सिलोनामा फुटबलको निर्णय लिन चाहन्छु । यो कुरा निर्वाचनपछि प्रष्ट हुनेछ । म कुनै सम्भावनालाई नकार्न चाहन्न । उनीहरु जनवरीमा पनि आएका थिए । तर, मैले यतिबेला परिस्थिति र समय सही नभएको बताए ।’ बार्सिलोनाको अध्यक्षको निर्वाचन सन् २०२१ हुँदैछ । अहिलेका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ पुनः निर्वाचित बन्ने दाउमा रहेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्