असार,७-

भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालीन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् । चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा भारतीय सेना अवगत रहेको उनले बताए । 

हैदरावादको डुन्डीगलमा एयर फोर्स एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भदौरियाले चीनको एयर बेस र नियन्त्रण रेखामा तैनाथ उनीहरुको संख्याका विषयमा भारतीय वायुसेना जानकार रहेको बताए ।  भारत र चीनबीच युद्ध हुनसक्छ भन्ने प्रश्नको जवाफ दिँदैं भदौरियाले भने– ‘हामी चीनसँग युद्धको स्थितिमा छैनौं । तर कुनै पनि आकस्मिक स्थितिको जवाफ दिनका लागि हामी पुरै तयार छौं । नियन्त्रण रेखाको अवस्थालाई शान्तिपूर्ण तरिकाले हल गर्नका लागि सबै प्रयास गरिएको छ ।’ 

गलवान उपत्यकामा मारिएका भारतीय जवानहरुको बलिदानी व्यर्थैमा खेर जान नदिने पनि उनले बताए ।  भदौरियाकाअनुसार केही प्रमुख एयर बेसमा भारतले आफ्ना पोस्ट विस्तार गरेको छ र आवश्यकताअनुसार वायुसेनाले उडान भर्नेछ । गलवान घाँटीमा १५ जुनमा चीन र भारतबीच ५ दशकयताकै सबैभन्दा ठूलो सैन्य टकराव निम्तिएको थियो । यस घटनामा भारतीय पक्षका २० जवान मारिएका थिए । त्यसयता दुई देशबीचको सम्बन्ध चिसो छ । 

-एजेन्सी

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्