मकवानपुरमा आज थप २० जनामा कोरोना संक्रमण

साउन,३१-

मकवानपुरमा शनिबार (आज) २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित कर्रा आइसोलेसन वार्डले दिएको जानकारी अनुसार आज १७ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडास्थित कीटजन्य रोग तथा अनुसन्धान प्रयोगशालामा स्वाब परीक्षण गरिएका ८५ जना मध्ये २० जनामा कोरोना पोजेटिभ देखिएको हो । थपिएका संक्रमित मध्ये हेटौंडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका जना र हेटौंडा बस्दै आएका बाहिरी जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौलागाईँले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नं ८ का १ महिला र २ पुरुष, वडा नं ४ का ३ पुरुष, वडा नं ६ का १ महिला र १ पुरुष, वडा नं ३ का १ पुरुष, वडा नं १० का १ पुरुष र वडा नं १८ का १ पुरुष, मनहरी गाउँपालका वडा नं ७ का १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै हेटौंडा बस्दै आएका पर्सा जिल्लाका ४ जना, बारा जिल्लाका १ जना, उदयपुरका १ जना र रौतहटका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।आइसोलेसन वार्डले दिएको जानकारी अनुसार साउन २९ गते को १०७, साउन ३० गतेको ९४ र ३१ गतेको १३६ स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्