असार,२९-

लकडाउनले अन्य व्यापार घटेको बेला मोबाइलको व्यापार भने बढाएको छ। लकडाउनको समयमा स्कुल, कलेज तथा घरै बसेर कार्यालयको काम गर्ने हुँदा मोबाइलको बिक्री बढेको हो। लकडाउनले बोर्डर बन्द हुँदा मोबाइलको बिक्री राम्रो भएको मोबाइल आयातकर्ता संघका अध्यक्ष तथा सामसङको आधिकारीक विक्रेता आइएमएस समुहका अध्यक्ष दीपक मल्होत्राले बताए। ‘नेपालको ४० प्रतिशत चोरी–पैठारी मोबाइलले पाउँथ्यो। त्यो बजार लकडाउनले बन्द छ, अहिले हामीले पाएका छौं,’ उनले भने, ‘यसले पनि नेपाली बजारमा मोबाइलको बिक्री बढेको छ।’ स्कुल, कलेजमा भएको अनलाइन क्लासले पनि मोबाइलको बिक्री बढाएको उनले बताए। २० देखि ४० हजार रेन्जका मोबाइल सेट बिक्री भएको छ। ‘लकडाउनले आउटलेट बन्द भए, तर पनि अनलाईनबाट बिक्री भयो,’ उनले भने। उनकाअनुसार अलिहे चार्टड फ्लाइटबाट मोबाइल आइरहेको छ। चार्टड फ्लाइटले मूल्य स्वभाविकरूपमा बढेपनि उक्त मूल्य भार कम्पनीले बेहोरेर उपभोक्तालाई लाग्दो मूल्य नै लिइएको उनी बताउँछन्।

लकडाउनमा मोबाइल बिक्री राम्रो भएको सस्तो डिलका इलेक्ट्रोनिक्स विभागका प्रमुख चाहत बस्नेतले बताए। ‘लकडाउनको सुरूवातमा त हामीले पनि खाद्यान्न बाहेक अरू केही बेचेनौं, पछि मोबाइलको माग आएपछि बेच्न सुरू गर्यौं,’ उनले भने। लकडाउनको बेला खाद्यान्न पछि मोबाइलको राम्रो बिक्री भएको उनी बताउँछन्। ‘त्याे समयमा साओमी, हुवावे तथा ओपोको २० देखि ४० हजारका फोन बढी बिक्री भए, चाइनाबाट आउने फोनको स्टक पनि कम छ,’ उनले भने। लकडाउनमा बिक्री भएका सिरिजका फोनको स्टक कम भएको हुवावेको मार्केटिङ म्यानेजर प्रनिसा श्रेष्ठले बताइन्। ‘लकडाउनमा वाइ सिरिजका वाइ सि, वाइ९एक्स र वाइम्याक्स फोन बढी बिक्री भए। स्टक कम छ, आयातका लागि प्रोसेस भइरहेको छ,’ उनले भनिन्।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्