साउन,९-

नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोरोना सङ्क्रमणको दर कम भएकाे भन्ने भ्रामक प्रचार गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसले बनाएको कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर सङ्क्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताउनुभयो ।

संयोजक महतले सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो । राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पष्ट भएको महतले बताउनुभयो । उहाँले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।

पछिल्लो समय वीरगञ्ज, राजविराजलगायतका ठाउँमा देखिएको सङ्क्रमणको प्रकृतिले सङ्क्रमण समुदायमा फैलिएको स्पष्ट हुने महतले बताउनुभयो । समुदायमा फैलन सक्ने सङ्क्रमण नियन्त्रणका लागि परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो । सरकारले होल्डिङ सेन्टर र क्वरेण्टीनकाे मापदण्डअनुसार सञ्चालन गर्न गम्भीर नभएको बताउनुभयो । लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको भए पनि कार्यान्वयनमा चासो नदेखाएको उहाँले बताउनुभयो । लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई सङ्क्रमणको खतरातर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउनेतर्फ सरकार गम्भीर नभएको नेता महतले बताउनुभयो । 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्