असार,३१-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरुले सहमतिका नाममा स्थायी समिति बैटक लामो समय स्थगन गर्न नहुने बताएका छन् । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक सहमति जुटाउने नाममा  १६ गते यता बस्न सकेको छैन । पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित गरेर प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच वार्ता भइरहेको छ । तर, उनीहरुबीच कुनै सहमति जुट्न सकेको छैन । बुधबार झण्डै ३ घण्टा ओली प्रचण्डबीच भएको वार्तामा पनि ठोस सहमति नभएपछि शुक्रबार बस्ने भनिएको स्थायी समिति बैठक पनि अनिश्चित भएको छ । दुई दिन बाँकी रहँदा समेत दुई नेताबीच सहमति नजुटेपछि केही स्थायी समिति सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । 

स्थायी समिति सदस्य जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ, रघुजी पन्त, टोपबहादुर रायमाझी लगायतका नेताहरुले सिंहदरवारमा बुधबार छलफल गरेका हुन् । छलफलमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको स्थायी समिति सदस्य देव गुरुगले रातोपाटीलाई जानकारी दिए ।  उनले साउन २ गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने हो कि भन्ने विषयमा कुराकानी भएको भन्दै लामो समय बैठक स्थगित गर्नुभन्दा बैठक बसेर निर्णय गर्नुपर्ने विषयमा सबै नेताहरु एकमत भएको जानकारी दिए ।  ‘बैठक बस्नुपर्छ । निर्णयहरु गर्नुपर्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ । विधि प्रकृयामा पार्टी चल्नुपर्छ भन्ने हाम्रो भनाइ हो । पार्टीलाई कसैले पनि अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्नेमा सबैको जोड छ,’ गुरुङको भनाइ छ ।  स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा माग्दै आएका छन् । तर ओली आफ्नो राजीनामा समस्याको समाधान नहुने भन्दै नदिने अडानमा छन् । जसले गर्दा नेकपा स्थायी समिति बैठक र विवाद लम्बिदै गएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्