असार,१५-

हेटौंडा उपमहानगरपालिका वडा नं ४ कर्रास्थित सूर्यचोकमा यही असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी सोमबार (आज) पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । सुस्मिताको हत्या उनकै परिवारका सदस्यहरु संलग्न रहेको प्रहरीले बताएको छ । उनको हत्यामा उनकै ससूरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा र सासू तुलसा थापा  संलग्न भएको प्रहरीले जनाएको छ । २६ वर्षीया सुस्मितालाई ससूरा, सासू र कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीले मानसिक यातना, यौनजन्य कारण र आर्थिक कारणले घटना घटेको निश्कर्ष निकालेको छ ।

घटना विवरणः

मिति २०७७।०३।०२ गते विहान अं. ०६:२० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं. ४ कर्रा स्थित सुर्य चोक बस्ने वर्ष २४ की सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठा भित्र मृत अवस्थामा फेला परेको भनी व.प्र.का. हेटौंडामा खबर प्राप्त भएको ।

– तत्काल व.प्र.का. हेटौडाबाट घटनास्थल सुरक्षार्थ प्रहरी अधिकृत सहितको टोली खटी विहान ०६:३० बजे पुगेको ।

– जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.ना.उ. ईन्द्र बहादुर रानाको कमाण्डको प्रहरी टोली घटनास्थलमा खटी गएको तथा सो घरको भान्छा कोठाभित्र मृतक लाश रही ढोकाको चुकुल भित्रबाट बन्द रहेको भन्ने जानकारी प्राप्त ।

– माईती पक्षलाई खबर ।

– कार्यालय प्रमुख प्र.उ. सुशील सिंह राठौर हेटौंडा अस्पतालको MEDICAL LEGAL तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुग्नु भएको ।

– दिउँसो अन्दाजी १४:०० बजे माईती पक्ष (मृतकको बुबा समेत) घट्नास्थलमा पुगेको ।

– स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा मृतक सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चोट लागी रगत बगेको अवस्थामा फेला परेको ।

– घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लगी अनुसन्धान गरिएको ।

– घटनास्थल तथा लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरेको ।

– मृतकको माइती पक्ष अर्थात पीडित पक्ष यस कार्यालयमा उपस्थित भई ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिएको ।

– प्र.ना.उ. ईन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको ।

– पोष्ट मार्टम पश्चात मृतक सुस्मिता क्षेत्री थापाको शव निजको ससुरा प्रकाश थापाले बुझी लिएको ।  

– मिति २०७७।०३।०४ गते हेटौंडा अस्पतालको पत्र साथ पोष्टमार्टम रिपोर्ट प्राप्त भएको ।

– मृतकका ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको ।

घटना हुनुका कारणहरूः

मानसिक यातनाः

स्व. रूपेन्द्र थापाको ससुरालीबाट घर फर्कने क्रममा मिति २०७६।०६।२३ गते सवारी दुर्घटनामा परी मृत्यु भए पश्चात रूपेन्द्र थापाको श्रीमती मृतक सुस्मिता क्षेत्री थापाको कारणले रूपेन्द्र थापाको मृत्यु भएको भनी परिवारका सदस्यहरूबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको । 

यौन जन्य कारणः

ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरूममा जबर्जस्ती करणी उद्योग गरेको । 

आर्थिक कारण:

(क) मृतक सुस्मिता क्षेत्री थापाको श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु पश्चातको क्षतिपूर्ति वापत पाउने रू. ५,००,०००।- (पाँच लाख) हकवाला मृतक सुस्मिता क्षेत्री थापाले प्राप्त गरेको सो सम्बन्धमा घर पक्षले हामीले पाउनुपर्छ भनी विवाद सृजना गरेको ।

(ख) स्व. रूपेन्द्र थापाले काम गर्ने (CSI) क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा.लि. हेटौंडाबाट निजको मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत एकमुष्ठ रू. ३८,२८,४७२।- (अठतीस लाख अठ्ठाइस हजार चार सय बहत्तर)  भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको । 

(ग) सामाजिक सुरक्षा कोषबाट मिति २०७६ साल कार्तिक महिना देखि मिति २०७७ सालको बैशाख महिना सम्म मासिक रु. १७,१००।– को दरले रु. १,७७,९४८।– रकम मृतक सुस्मिता क्षेत्रीको ग्लोबल आई.एम.ई. बैंक हेटौडाको खाता नं. ४६०७०१०००४४३३ मा अन लाईन पेमेन्ट भएको ।

(घ) नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट स्व. रुपेन्द्र थापाको रु. १०,००,०००।- को बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको रू. १०,६३,९१४।- (दश लाख त्रीसठ्ठी हजार नौ सय चौध) ईच्छाईएको व्यक्ति निजको बुबा प्रकाश थापाले लिई सकेको ।

– मृतक सुस्मिता क्षेत्री थापालाई प्राप्त हुने सबै रकमहरू निकालेर घरमा ससुरालाई दिनुपर्छ भनी मृतक सुस्मिता क्षेत्री थापालाई घर परिवारबाट बारम्बार दवाव दिने गरेको ।

कानूनी प्रावधानः

मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ (क) बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी जन्मकैद हुने ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्